Saturday, May 6, 2017

यस्ता छन् मतदाताका माग


नेता–कार्यकर्ता चुनावका बेला भोट मात्रै माग्न आउने तर जित–हारपछि सहर पसिहाल्ने प्रवृत्तिले स्थानीय दिक्क छन् । स्थानीय तह निर्वाचनको माहोल तात्दै जाँदा गाउँमै बसेर जनताको दुस्ख–सुखमा साथ दिने नेताको कमी रहेको गुनासो व्यापक सुनिँदै छ

वैशाख २३, २०७४( अचेल भूकम्पले भत्काएको घरछेउ दिन कटाइरहेछन्, नवलपरासी, देवचुली–६ का ६५ वर्षीय चन्द्रबहादुर राना । उनीकहाँ  भोट माग्न आउनेको लर्को नै लाग्छ । ‘दिनकै ४र५ जना आउँछन्, भोट माग्छन्, मैले सबैलाई हुन्छ भनिदिएको छु,’ उनले भने, ‘धेरै निर्वाचनमा भोट हालिसकें, दुर्गमको दुस्ख आज पनि उस्तै छ ।’

युवाले विकासमा जोड दिने भएकाले पार्टी नहेरी उनीहरूलाई भोट हाल्ने सोच बनाएको रानाले बताए । चुनावको समयमा गाउँमा आएर भोट माग्ने र जित–हारपछि सहरमा बस्ने नेता–कार्यकर्ताका कारण स्थानीय दिक्क छन् । जनताको दुस्ख–सुखमा गाउँमै बसेर काम गर्ने नेताको कमी भएको उनीहरूले बताए । सहरमा घर बनाएर, चुनावमा उठ्नका लागि मात्रै गाउँमा मतदाता नामावलीमा नाम कायम राख्ने उम्मेदवारलाई भोट नदिने सर्वसाधारणको भनाइ छ ।



कावासोती–१७ का जोगबहादुर महतोले यसपालि आदिवासी जनजातिको सहभागिता राम्रो भएकाले पिछडिएका वर्गको पक्षमा काम गर्न सजिलो हुने विश्वास लागेको बताए । जहिले पनि यसले गरेन, उसले गरेन भनेर गाली मात्रै गर्नुभन्दा अहिलेको चुनावमा चरणबद्ध विकास र समृद्धिको योजना ल्याउने र भ्रष्टाचारमुक्त छविकालाई मतदान गर्ने उनले बताए ।

सडक र बिजुली मुख्य नारा
जाजरकोट– भेरी नगरपालिकाका बासिन्दाले गाउँ–गाउँमा सडक तथा बिजुली पुर्‍याउनेलाई भोट दिने बताएका छन् । नगरपालिका भए पनि गाउँमा मोटरबाटो, बिजुलीलगायत पूर्वाधारको विकास हुन सकेको छैन । त्यसैले पूर्वाधार विकास गर्न सक्ने सक्षम उम्मेदवारलाई भोट दिने मतदाता बताउँछन् ।

भेरी नगरपालिका–२ का टोपबहादुर थापाले चुनावमा भोट माग्न आउने र निर्वा्चित भएपछि गाउँको विकास तथा जनताको दुस्खमा बेवास्ता गर्ने नेता धेरै देखिएको बताए । ‘अब यस्ता नेतालाई भोट हालिँदैन । गाउँलेहरूबीच यो चुनावमा विकास गर्न सक्ने सक्षम उम्मेदवारलाई मात्र भोट खसाउने सल्लाह भएको छ,’ उनले भने ।

सदरमुकाम भएर पनि सञ्चार, सडक, सरसफाइ, बस्ती विकास, खानेपानी र ढल निकास नभएको थाप्लेका प्रसिद्धजंग शाहले बताए । खलंगालाई व्यवस्थित तथा सुन्दर सहरको निर्माण गर्न सक्ने उम्मेदवारलाई चिनेर मात्र भोट हाल्नुपर्ने उनको भनाइ छ । ‘स्वच्छ खानेपानी, उज्यालो तथा सुन्दर सहर, रोजगारी सिर्जना गर्ने उम्मेदवारको खोजीमा छौं,’ उनले भने ।

‘भूकम्पपीडितलाई सहारा’
सिन्धुपाल्चोक– स्थानीय तह चुनावको मनोनयन सकिएलगत्तै उम्मेदवार अनेक विकासे नारा लिएर गाउँ पसेका छन् । अधिकांश दलका उम्मेदवारले भूकम्पपीडितलाई लक्षित गर्दै आकर्षक नारा तय गरेका हुन् । जिल्लामा क्रियाशील मुख्य दल कांग्रेस, एमाले, राप्रपा र माओवादी केन्द्रले प्रचारात्मक अभियानमा ‘हाम्रो अभियान भूकम्पपीडितलाई अनुदान’ साझा नाराजस्तै बनाएका छन् ।

सबैजसो उम्मेदवारले भूकम्पपीडितको समृद्धि र पुनर्निर्माणको विषयलाई नारामा समेटेका हुन् । जबकि भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि जिल्लामा पुनर्निर्माणले अपेक्षित गति लिन सकेको छैन । ७४ हजार ९ सय १२ परिवारले पुनर्निर्माणबापतको पहिलो किस्ता बुझेका छन् । दोस्रो किस्ता बापतको रकम पाउनेमा ४ सय ४३ जना मात्र छन् ।

कांग्रेस जिल्ला सभापति विकास लामाले पुनर्निर्माण अघि बढाउन उम्मेदवारको भूमिका महत्त्वपूर्ण हुने बताए । ‘अनुदानबाट छुटेका ३० प्रतिशत भूकम्पपीडितलाई अनुदान दिलाउने र पुनर्निर्माणमा सघाउने हाम्रो मूल नारा हो,’ बाह्रबीसे नगरपालिकामा कांग्रेसका तर्फबाट मेयरका प्रत्यार्शी बालकृष्ण बस्नेतले भने, ‘गाउँगाउँमा यही नारा लिएर मतदाता रिझाउन लागेका छौं ।’

एमाले उम्मेदवारहरूले पनि भूकम्पपीडितलाई छिटो अनुदान दिलाउने र पुनर्निर्माणलाई तीव्रता दिनेजस्ता विषयलाई चुनावी नारा बनाएको छ । पुनर्निर्माणअघि बढाउन र भूकम्पपीडितको समृद्धि नै प्रमुख नारा लिएर मतदाताको घरदैलोमा पुगेको जिल्ला अध्यक्ष झम्क नेपालले जानकारी दिए । माओवादी केन्द्र र राप्रपा सम्बद्ध उम्मेदवारहरूले पनि भूकम्पपीडितको अनुदानलाई नै आफ्नो चुनावी नारा बनाएका छन् ।

मतदाताको अपेक्षा
सुर्खेत– वीरेन्द्रनगर इत्रामका बलबहादुर सुनारले तीन वर्षदेखि अटोरिक्सा चलाउँदै आएका छन् । अटोरिक्साकै आम्दानीबाट उनले परिवारका ६ जनाको भरणपोषण गर्नुपर्ने बाध्यता छ । सशस्त्र द्वन्द्वका बेला कालिकोटबाट विस्थापित भई सुर्खेत झरेका उनको एउटै अपेक्षा सुनाए, ‘मजदुरी गरेर ढुक्कसँग बस्न पाइयोस् ।’

वडा नम्बर ८ का मतदाता भएकाले उनीसँग नेताहरूले भोट माग्न थालिसके । ‘अहिलेसम्म मेयररउपमेयरका उम्मेदवारहरू त आउनुभएको छैन । कांग्रेस र माओवादीका वडाका उम्मेदवारहरू आएर भोट मागिसक्नुभयो,’ बलबहादुरले भने, ‘पार्टीभन्दा पनि व्यक्ति हेरेर भोट दिन्छु भनिदिएँ । उहाँहरूसँग केही गुनासो पनि राखेको छु ।’

वीरेन्द्रनगरको सडकको दयनीय अवस्था देखेर उनी दिक्क छन् । रिक्सा चलाउन मुस्किल छ । ‘बाटैभरि पिच उप्केर खाल्डाखुल्डी मात्र छन्,’ उनले भने, ‘कम्तीमा निर्वा्चित प्रतिनिधि भएको भए गुनासो गर्ने ठाउँ हुन्थ्यो । अब केही भएन भने पनि वडाका नेताहरूसँग गुनासो त गर्न पाइएला भन्ने आशा छ ।’
सडक, बिजुली, खानेपानीको मात्र पर्याप्त पहुँच विस्तार गर्न सके वीरेन्द्रनगर समृद्ध बन्न सक्ने मतदाताको विश्वास छ । कर्मचारीको भरमा स्थानीय निकाय सञ्चालन हुँदा विकास लथालिंग भएको उनीहरूले बताए । ‘जनप्रतिनिधि चुनिए विकासमा प्रतिस्पर्धा हुन्थ्यो कि,’ अर्का मतदाता रेशम बोगटीले भने ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले उपत्यकाभित्रै आवश्यक पूूर्वाधार नहुँदा वीरेन्द्रनगर अन्य सहरको तुलनामा पछाडि परेको बताए । ‘सिटीहल छैन । सडक राम्रो छैन । पर्यटकीय स्थल व्यवस्थित छैनन् । एयरपोर्ट करिब–करिब प्रयोगविहीन छ । यति सानो सहरमा पनि खानेपानीको हाहाकार छ,’ समस्याको फेहरिस्त सुनाउँदै भने, ‘अब जुन पार्टीले जिते पनि निजी क्षेत्रसँग सहकार्य गर्दै लगानी भित्र्याउन सक्ने र विकासलाई पहिलो प्राथमिकतामा राख्न सक्नुपर्छ ।’

विकासको आशा
पोखरा– उम्मेदवारी दर्ता भएसँगै मतदातामा उत्साह छाएको छ । उम्मेदवारले विकास–समृद्धिका कुरा गरिरहँदा मतदाताले पनि त्यसलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका छन् ।

स्वच्छ छवि, योजनाबद्ध ढंगले विकास गर्नसक्ने, विकासप्रेमी र सबैलाई समेटेर लैजान सक्नेले जित्नुपर्ने उनीहरु ठान्छन् ।  ‘निर्वाचनपछि व्यवस्थितरूपमा गाउँ र सहरको विकास हुने विश्वास छ । जनताको भावनाअनुसार पनि काम गर्नुपर्छ,’ मञ्जु गुरुङले भनिन्, ‘जसले जिते पनि तेरो–मेरो नभनी सबैलाई समेटेर लैजानुपर्छ ।’

मादी गाउँपालिकाका टेकबहादुर परियार निर्वाचनले जनताले घरदैलोमै राहत पाउने (सरकारी सेवासुविधा), गाउँको विकास, गाउँमा रहेका विभिन्न स्रोतहरूको उपयोग हुनेमा विश्वस्त देखिए । ‘अहिलेसम्म चुनाव नहुँदा जनताले धेरै दुस्ख पाएका छौं । अब त्यस्तो नहोस्,’ उनले भने, ‘चुनावमा जसले जिते पनि अब गाउँको विकास हुने, विपन्न समुदाय र व्यक्तिलाई पनि सहयोग मिल्ने विश्वासमा छु ।’  एकाधबाहेक अधिकांश सरकारी सेवासुविधा गाउँमै पाउने व्यवस्था निर्वाचनपछि आउने भन्दै सर्वसाधारण खुसी छन् । अहिलेसम्मको कर्मचारीले मात्रै चलाउनुपर्ने अवस्थाको अन्त्य हुने भन्दै उनीहरूले जनताको चाहनाअनुसार काम गर्नुपर्नेमा जोड दिए । ‘स्थानीयस्तरको आवश्यकतालाई मध्यनजर राख्दै सोहीअनुसार विकास गर्नुपर्छ,’ पर्यटकीय गाउँ घान्द्रुकस्थित छोम्रोङका व्यवसायी ओमप्रसाद गुरुङले भने, ‘जनताको मन जित्नेगरी काम गर्नुपर्छ ।’

उम्मेदवारी दर्तासँगै कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, नयाँ शक्तिलगायत पार्टीले चुनाव केन्द्रित कार्यक्रमलाई तीव्र बनाएका छन् । उनीहरू प्रतिबद्धतासहित मतदाताको घरदैलोमा पुगिरहेका छन् । प्रतिबद्धताअनुसार निर्वाचन जितेपछि काम गर्नुपर्ने हेम्जाका किसान चित्रनाथ पौडेल बताउँछन् । ‘निर्वाचनले किसानमा पनि उत्साह छाएको छ,’ उनले भने, ‘अब सानातिना कामका लागि पनि केन्द्रमा धाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ ।’

0 comments:

Post a Comment

Newer Post Older Post Home
>

Archive

 

Archive

 

Templates by Nano Yulianto | CSS3 by By Sukraj Sunuwar{N}Code & Blogger