Saturday, May 20, 2017

यार्चाकुन्भु टिप्न जाने तयारी सुरु

डोल्पालीहरुको मौसमी आयस्रोत बन्दै आएको यार्चाकुन्भु टिप्ने समय नजिकिदै गर्दा सर्वसाधारणहरु पाटन जाने तयारी गरिरहेका छन् ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पाइने महत्वपूर्ण बुटी यार्चाकुन्भु टिप्न यो वर्ष यही जेठ ११ गतेबाट प्रवेश खुला गर्ने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाले जनाएको छ ।

यार्चाकुन्भु टिप्न पाटन जाने प्रवेशको समय नजिकिंदै आएको बेला पाटनमा आवश्यक पर्ने पाल, ओड्ने ओछ्याउने, अन्य न्याना कपडाहरु, आवश्यक खानेकुरा र अन्य बन्दोबस्तीका सामग्रीहरु जम्मा तथा तयारी गर्न थालिएको सर्मी–३ का नारदे बुढाले बताए ।

यार्चाकुन्भु टिप्न जाने समय नजिकिदै गए पछि डोल्पाका विद्यालयहरुमा पनि प्रभाव पर्न सुरु भैसकेको स्थानीय नरबहादुर रोकाया बताउँछन् । उनका अनुसार यतिखेर कुटानी पिसानी र अन्य बन्दोबस्तीका सामग्री तयारी गर्न सबै लागेका छन् ।

निकुञ्जभन्दा बाहिरका विभिन्न पाटनमा समेत यार्चाकुन्भु पाइने गर्दछ । माझफाल, सहरतारा, मुकोट, छार्का, दुनैलगायतका केही साविकका गाउँपालिकाहरुमा पनि पाइन्छ ।

नेपाल सरकारले यार्चाकुन्भु व्यवस्थापन निर्दे्शिका प्रकाशन गरेर विभिन्न मापदण्डहरु तोकेको छ । जसमा १६ वर्षमुनिका बालबालिकाहरु यार्चाकुन्भु संकलन गर्न पाटन जान नपाउने, गर्भवती महिला जान नपाउने जस्ता सीमा तोकिएको भन्ने खबरले सर्वसाधारणहरुमा खैलाबैला मच्चिएको छ । यार्चाकुन्भु बालबालिकाहरुले नै बढी भेट्टाउने भन्दै अभिभावकहरु बालबालिकाहरुलाई पाटन लैजाने गर्छन् ।

५–७ वर्षका बालबालिकाहरु, सुत्केरी, वृद्धवृद्धाहरु, गर्भवतीहरु, अपाङ्ग लगायतका व्यक्तिहरु पनि यार्चाकुन्भु टिप्न पाटन जाने गर्छन् । निकुञ्जले यो वर्ष निर्दे्शिकाको कडाइका साथ पालना गराउने तयारीमा रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाले जनाएको छ ।

0 comments:

Post a Comment

Newer Post Older Post Home
>

Archive

 

Archive

 

Templates by Nano Yulianto | CSS3 by By Sukraj Sunuwar{N}Code & Blogger