Thursday, May 4, 2017

शिक्षित भएर भोट हाल्ने गरौ

चुनाव आउन १० दिन मात्रै बाँकी रहे पनि चौताराको साँगाचोकगढी नगरपालिका ९ स्थित माझी टोलका बासिन्दालाई अझै थाहा छैन– मतपत्रका कति ठाउँमा छाप हान्नुपर्ने हो ? उनीहरू अन्योलमै छन्– कति जनालाई भोट दिनुपर्ने हो ? कसरी मतदान गर्ने हो ? उम्मेदवारहरू कार्यकर्ताको लस्करसहित गाउँ पस्न थालेका छन् । तर तिनीहरूले आफ्नो दलको चुनाव चिह्नमा भोट हाल भन्नेबाहेक अरू काम गरेका छैनन् ।

स्थानीय नेत्रबहादुर माझीको घरमा एमालेको चुनाव चिह्न भएको झन्डा फरफराइरहेको थियो । तर उनी भने कांग्रेसको चुनाव चिह्न भएको टोपी ढल्काएर हिँडिरहेका थिए । ‘खै हजुर, चुनाव आयो भन्छन् । जसले जे दिन्छ त्यही लगाइदिने हो, त्यही खाइदिने हो,’ उनले भने । माझीटोलका प्रत्येक घरमा जस्ताका छाना टल्किएका छन् । भूकम्पले घर लडेपछि सबैले जस्तापाताले बेरबार बनाएर गच्छेअनुसारको टहरा बनाएका हुन् । 

टहराको अव्यवस्थित बसोबासको पिरलो र मकै खेतीको चटारोले गाउँलाई छपक्क छोपेको छ । तर पनि प्रत्येक टहरामा दलहरूका झन्डा फरफराइरहेका छन् । झन्डा हेर्दा चुनावको रौनक देखिए पनि स्थानीयले मतदाता शिक्षा पाएका छैनन् । धेरैलाई स्थानीय तहको चुनाव भनेको के हो भन्ने पनि थाहा छैन । कति जनालाई मत दिन पाइन्छ भन्ने जानकारी पनि छैन । 

‘भोट हाल्ने भन्ने त थाहा छ । तर कस्तो चुनाव हो र कति जनालाई भोट हाल्ने भन्ने थाहा छैन,’ नेत्रले सुनाए ।फूलमान माझीको टहरोमा पनि दलको झन्डा फरफराइरहेको छ । घरमा उम्मेदवारहरू भोट माग्न आइरहेका छन् । ‘नेता तथा कार्यकर्ताको हूल बाख्रा दौडिएजस्तो दौडिएका छन् । तर यो चुनाव कस्तो हो भनेर कसैले बताएका छैनन् अनि हामीले कसले भनेर थाहा पाउनु ?’ उनले भने । 

इन्द्रबहादुर माझीलाई आफ्नै घरधन्दाले फुर्सद छैन । फुर्सद नभएपछि चुनावबारे कसरी थाहा पाउनु ? उनले झन्डा बोकेर हिँडेका मान्छेको हूल धेरैपटक देखिसके, चुनाव आउँदै छ भन्ने पनि थाहा पाइसके । तर योभन्दा धेरै कुरा बुझ्न पाएका छैनन् । उल्टै प्रश्न गरे, ‘संविधानसभाको चुनावजस्तै चुनाव हो कि अर्कै हो ?’ विष्णुबहादुर माझी घर छेउको सानो सुर्कामा हलो जोतिरहेका थिए । उनकी पत्नी मकै छरिरहेकी थिइन् । उनलाई पनि चुनाव आयो भन्ने मात्र थाहा छ । यो चुनावले गाउँलाई कसरी र कस्तो फाइदा हुन्छ भन्ने बुझेका छैनन् । ‘आफूलाई खेतीपातीकै चटारो छ । 

उम्मेदवार कसैले केही बुझाएका छैनन्, कसरी पो थाहा पाउने ?,’ उनले भने । टहरामा दुस्खजिलो गरी दिन गुजारिरहेका माझी बस्तीका मतदाताको सबभन्दा धेरै दलहरूसँग आक्रोश छ । दोस्रो संविधानसभाको चुनावमा गरेका वाचा पूरा नगरेकामा उनीहरूको चित्त त दुखेको छ नै, भूकम्पपछिको विपत्तिमा दलहरूले वास्ता नगरेकोमा रिस उठेको छ । 

इन्द्रबहादुर माझीले आक्रोश पोखे, ‘चुनावभरि नमस्कार गर्छन् । जितेपछि नचिनेजस्तो गरेर मुन्टो फर्काएर हिँड्छन् ।’ इन्द्रलाई दोस्रो संविधानसभाको चुनावमा उम्मेदवारहरूले दिएको वाचा भुलेकोमा औधी रिस उठेको छ । मानबहादुर माझीको पनि दलका नेताहरूसँग उस्तै गुनासो छ । कोही उम्मेदवारले बाटो कालोपत्रे गरिदिन्छु भनेका थिए, कसैले इन्द्रावतीको पानी अपलिफ्ट गरेर घरघरमै पुर्‍याइदिन्छु भनेका थिए । ‘खै त केही काम गरेको देख्नुभयो ? भोट पाउनका लागि भन्ने मात्रै हो,’ उनले भने ।

माइली माझी टहराको छेउमा पतकर सोहोरिरहेकी थिइन् । उनले पनि चुनाव आउँदै छ भन्ने त सुनेकी छन्, तर यसअघिका चुनावमा जस्तै नेताहरूले झुक्याउँछन् भन्नेमा ढुक्क छिन् । उनी पनि आक्रोश पोख्न पछि परिनन् । भनिन्, ‘चुनाव आएर के हुन्छ ? त्यसले के गर्छ । जे गरे पनि नेता र तिनका धुपौरेलाई त गर्ने हो । हाम्रो कुरा कसले सुन्छ र ?’ 

जति आक्रोश भए पनि भोट भने हाल्ने उनले बताइन् । आफूले भोट हालेपछि नेतालाई गाली गर्ने भए पनि अधिकार पाइन्छ भन्ने उनको बुझाइ छ । उनले भनिन्, ‘यसपाला भोट हाल्नुभन्दा अघि नै प्रस्ट कुरा राख्ने हो । भोट पनि हाल्ने हो । तर भनेजस्तो गरेनन् भने जान्या छु ।’  माझीटोलको पायक पर्ने ठाउँमा स्कुल छैन । 

स्वास्थ्य चौकी पुग्नका लागि झन्डै तीन घण्टा हिँडेर छिमेकको जल्किनी गाउँ पुग्नुपर्छ । सडक कच्ची छ र वर्षायाममा गाडी गुडनै सक्दैनन् । मानबहादुरले यी सबै कुरा पूरा गर्ने वाचा गर्ने उम्मेदवारलाई भोट हाल्ने सोच बनाएका छन् । उनले भने, ‘हुन्छ हुन्छ भन्ने तर काम फिटिक्कै नगर्ने मान्छे चाहिया छैन हामीलाई ।’

परिवारका पाँच सदस्यसँग सानो टिनको छाप्रोमा गुजारा गरिरहेका फूलमानलाई नेताहरूले कैयन् पटक झुक्काएको राम्रोसँग सम्झना छ । उनले भने, ‘पहिलो संविधानसभामा भोट हालेपछि पनि ढाँटे, दोस्रो संविधानसभाका बेला पनि झुक्काएरै छाडे । यसपाला के हुन्छ भन्न सकिन्न ?'

0 comments:

Post a Comment

Newer Post Older Post Home
>

Archive

 

Archive

 

Templates by Nano Yulianto | CSS3 by By Sukraj Sunuwar{N}Code & Blogger