Sunday, May 21, 2017

युवाको प्राथमिकता शिक्षा र कृषि

स्थानीय तह निर्वाचन भएका प्रदेशमा धमाधम मत परिणाम सार्वजनिक भइरहेका छन् । पाँच वर्ष स्थानीय सरकार चलाउन नगर, गाउँपालिका र वडाको प्रमुखमा निकै कम युवा निर्वा्चित भएका छन् । १ महानगर र ४ गाउँपालिका भएका कास्कीमा गाउँपालिकाको मत परिणाम आइसकेको छ । पोखरा लेखनाथ महानगरपालिकाको मतगणना भइरहेको छ ।

कास्कीको १ गाउँपालिका र गाउँपालिकाका ३ वडाले मात्र युवा प्रमुख पाएको छ । पोखरा लेखनाथमा प्रमुख तीन पार्टीबाट युवा उम्मेदवार नै छैनन् । अन्य पार्टीबाट प्रमुखमा युवा विजयी हुने सम्भावना टरेको छ । रूपा गाउँपालिका अध्यक्षमा ३३ वर्षीय नवराज ओझा विजयी भएका छन् । रूपाकै २ नम्बर वडामा ३२ वर्षीय हरिकृष्ण ओझा, मादी गाउँपालिकाको वडा नम्बर ७ मा ३१ वर्षीय लालबहादुर गुरुङ र मादीकै वडा नम्बर ९ मा ३५ वर्षीय तोरण गुरुङ अध्यक्षमा निर्वा्चित भएका छन् । गाउँपालिका र वडा हाँक्न युवा प्रतिनिधिका आ–आफ्नै योजना छन् । युवा प्रमुखले शिक्षा र कृषिमा बढी जोड दिएका छन् । गुणस्तरीय शिक्षा र कृषिको आधुनिकीकरणमा युवाले समान चासो देखाएका छन् । युवा स्वरोजगार, ग्रामीण सडक स्तरोन्नति, खानेपानी, पर्यटन, स्थानीय स्रोतसाधनको उपयोग पनि युवाका एजेन्डा हुन् ।



व्यवसायको बिमालाई प्राथमिकता
रूपा गाउँपालिकामा कांग्रेसका ‘हेभिवेट’ उम्मेदवार प्रकाशमोहन खनाललाई हराएर एमालेका ३३ वर्षीय नवराज ओझाले जित्छन् भन्ने स्थानीयले सायदै सोचेका थिए । खनाल पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षबाट राजीनामा दिएर चुनावमा होमिएका थिए । कांग्रेस केन्द्रीय सदस्य जीवन परियार र सांसद यज्ञबहादुर थापाको थलोमा समेत एमालेका ओझाले खनाललाई हराए । ओझा एमाले निकट युवा संघका गण्डकी अञ्चल अध्यक्ष हुन् । साबिकको सिद्ध गाविसको गाउँफर्क माविमा पढ्दादेखि नै विद्यार्थी राजनीतिमा होमिएका उनी अखिलको स्कुल कमिटी अध्यक्ष थिए । उनले पृथ्वीनारायण क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह मात्रै उत्तीर्ण गरेका छन् । हाल उनी एमालेको जिल्ला कमिटी सदस्य हुन् ।
गाउँपालिका अध्यक्षमा निर्वा्चित भएपछि उनले युवा स्वरोजगारलाई प्राथमिकतामा राख्ने बताए । कृषिमा आधारित साना तथा मझौता उद्योग खोल्न युवालाई प्रेरित गर्ने उनको योजना छ । ‘युवाले गर्ने व्यवसायको सुरक्षाको ग्यारेन्टी पनि हामीले लिनुपर्छ,’ उनी भन्छन्, ‘त्यसका लागि व्यवसायको बिमालाई प्रमुख मुद्दा बनाउँछौं ।’ युवालाई बिदेसिनुपर्ने बाध्यताको अन्त्य गरी गाउँमै टिकाइराख्न स्वरोजगार नै उत्तम विकल्प हुने उनको धारणा छ । अध्यक्ष निर्वा्चित भइसकेपछि पहिलो काम भूकम्पपीडितलाई राहत उपलब्ध गराउन पहल गर्ने ओझाले बताए । उनले गाउँपालिकाको मुख्य समस्या रहेको खानेपानी अभाव हटाउने योजना सुनाए । गाउँपालिकाका तीन मुख्य सडकलाई कालोपत्रे गर्ने, शैक्षिक स्तरोन्नति गर्ने, पर्यटन गुरुयोजना बनाउने योजना पनि प्राथमिकतामा रहेको उनले बताए । ‘रूपा ताल, रूपाकोट, रोयल ट्ेरकजस्ता पर्यटकीय स्थलबाट सर्वसाधरणलाई फाइदा दिलाउन होमस्टे सञ्चालनमा जोड दिन्छौं,’ उनले भने ।

कृषिमै आधुनिकीकरण
रूपा गाउँपालिकाको वडा नम्बर २ बाट अध्यक्षमा निर्वा्चित हरिकृष्ण ओझा भर्खर ३२ वर्ष टेके । साबिकको थुम्की गाविस घर भए पनि उनले बुबाको जागिरको सिलसिलामा विद्यालय जीवन कपिलवस्तुमा बिताए । दस जोड दुई पोखराको कालिका बहुमुखी क्याम्पसबाट उत्तीर्ण गरेका ओझाले पृथ्वीनारायण क्याम्पसबाट स्नातक सकाए । पारिवारको राजनीतिक पृष्ठभूमिका कारण पनि उनी कांग्रेससँग जोडिए । संविधानसभाको पहिलो निर्वाचनताका उनी तरुण दलको गाविस सभापति बने । अहिले कांग्रेसको क्षेत्रीय सदस्य हुन् ।

आफ्नै निर्माण व्यवसाय सञ्चालन गरिरहेका ओझा गाउँपालिकामा कृषि र व्यवसायलाई जोड्न चाहन्छन् । कृषिको आधुनिकीकरण र व्यवसायिकीकरणमार्फत वडावासीको जीवनस्तर सुधार्ने उनको योजना छ । परम्परागत कृषि प्रणालीलाई विस्थापित गरेर नगदेबालीको प्रवद्र्धन गर्ने उनले बताए । उक्त वडामा अलैंची, अदुवा, खुर्सानीको उत्पादन राम्रो हुने भएकाले मसला उद्योगको स्थापना गर्ने, अर्गा्निक कृषि फार्म सञ्चालन गर्ने, कुखुरा र बाख्रापालनलाई व्यावसायिक बनाउने उनको सोच छ । उनी भन्छन्, ‘बाँसका हस्तकला सामग्री उत्पादन गरेर बजारीकरण गर्न मेरो भूमिका हुनेछ ।’

सामुदायिक विद्यालयमा सुधार
मादी गाउँपालिका वडा नम्बर ७ को अध्यक्षमा निर्वा्चित ३१ वर्षीय लालबहादुर गुरुङ माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । अखिल (क्रान्तिकारी) को विद्यालय इकाईबाट राजनीति सुरु गरेका उनी जिल्ला सचिवसमेत भए । गुरुङले पृथ्वीनारायण क्याम्पसबाट ग्रामीण विकासमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । विद्यार्थी राजनीतिमा रहँदा शिक्षा प्रणालीलाई नजिकबाट नियालेका गुरुङले वडामा पहिलो प्राथमिकता सामुदायिक विद्यालयको गुणस्तर सुधार रहने बताउँछन् । उनी भन्छन्, ‘सामुदायिक विद्यालयलाई नीतिभन्दा राम्रो बनाउन मेरो जोड हुनेछ ।’ गाउँका सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्दा बालबच्चा पढाउनकै लागि सहर पस्नुपर्ने बाध्यताको अन्त्य गर्न कदम चाल्ने उनको योजना छ । त्यसका लागि वडामै भएका स्रोतसाधन परिचालन गर्ने उनी बताउँछन् । वडामा २५ मेगावाटको अपर मादी हाइड्रोपावर सञ्चालनमा छ । ४४ मेगावाटको सुपर मादी बन्ने क्रममा छ । तिनै हाइड्रोपावरको सेयर नपाएकालाई उपलब्ध गराउन पहल गर्ने पनि उनले बताए । कृषि, पर्यटन, पशुपालन, स्रोतसाधनको उचित संरक्षण र उपयोग, युवा स्वरोजगार, स्वास्थ्यचौकी भवन, ग्रामीण सडकको स्तरोन्नति उनका एजेन्डा हुन् । उनी भन्छन्, ‘मेरो सैद्धान्तिक अध्ययनलाई वडामा व्यवहारमै कार्यान्वयन गर्नेछु ।’

प्राकृतिक स्रोतसाधनको समुचित प्रयोग
मादी गाउँपालिकाको वडा नम्बर ९ बाट ३५ वर्षीय तोरण गुरुङ निर्वा्चित भएका छन् । उनका पिता कांग्रेसबाट तत्कालीन मिजुरेडाँडा गाविस उपाध्यक्ष थिए । उनी भने ०५४ मा लमजुङको ईशानेश्वर क्याम्पसमा पढ्ने क्रममा माओवादीनिकट अखिल (क्रान्तिकारी) मा आबद्ध भए । उनका आफन्त सुरज गुरुङ माओवादी जनयुद्धका क्रममा राज्यपक्षबाट मारिएपछि उनी माओवादी राजनीतिमा झनै प्रतिबद्ध भएर लागे । राजनीतिमै लाग्न उनी बेलायत जाने अवसर त्यागेर नेपाल नै बसे । उनका पिता भूतपूर्व गोर्खा सैनिक हुन् ।

उनलाई प्राकृतिक स्रोतसाधनमाथि स्थानीयको अधिकारमा राज्यले गरेको व्यवस्था अव्यावहारिक लागेको छ । जल, जमिन र जंगलको उपयोगको पहिलो अधिकार स्थानीयको हुने भएकाले तिनको समुचित उपयोगमार्फत वडालाई समृद्ध बनाउन लागिपर्ने उनको योजना छ । ‘हामीसँग प्रशस्त स्रोतसाधन छन्,’ उनी भन्छन्, ‘तिनको प्रयोग गर्ने वैज्ञानिक योजना नहुँदा खेर गइरहेको छ ।’

0 comments:

Post a Comment

Newer Post Older Post Home
>

Archive

 

Archive

 

Templates by Nano Yulianto | CSS3 by By Sukraj Sunuwar{N}Code & Blogger